काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम थप प्रक्रियाका लागि सार्वजनिक भएको छ । व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्र मूल्यांकनका आधारमा ४३ मध्ये १४ जनाको नामावली सार्वजनिक गरेको जनाइएको छ ।
सय पूर्णाङ्कमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना आवेदकहरूले दरखास्तसँगै बुझाएका थिए ।
उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका ४३ मध्ये १४ जनाको सूची सार्वजनिक गरेको हो । कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाका नाम सूची सार्वजनिक भएको हो ।
सूचीमा परेकाहरुको यही माघ २९ देखि फागुन २ गतेसम्म प्रस्तुतिकरण र अन्तर्वार्ता हुने गरी तालिका तय भएको छ । अन्तर्वार्तापछि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरिने समितिले जनाएको छ ।