काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले काँकडभिट्टा, भद्रपुर भन्सार कार्यालयलाई मासिक रूपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिएका छन् ।
आज ति कार्यालयहरूको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएपछि लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिए । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाँचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा पुग्नुभएका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरूसँग भेटघाट समेत गरेका थिए । सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई कडाइका साथ लाग्न आग्रह गरे ।
उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे। ‘राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ’, अर्थमन्त्री महतले भने,‘राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन। राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ।’
निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइदिन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका छन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times