काठमाण्डौ । गएको साउनदेखि पुस मसान्तसम्म ट्राफिक नियम उलङ्घन गर्नेहरूलाई गरिएको कारबाहीबाट करिब पौने ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यी ६ महिनामा गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८ सय रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राजस्वमध्ये काठमाण्डौ उपत्यकाबाट ३२ करोड ३३ लाख रुपैयाँ, कोशी प्रदेशबाट सात करोड ८७ लाख रुपैयाँ, मधेशबाट १० करोड पाँच लाख रुपैयाँ, बागमतीबाट सात करोड ८८ लाख रुपैयाँ, गण्डकीबाट आठ करोड १८ लाख रुपैयाँ, लुम्बिनीबाट नौ करोड ३८ लाख रुपैयाँ, कर्णालीबाट एक करोड ५६ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख रुपैयाँ सङकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
यो कारबाहीमा सबैभन्दा बढी ४ लाख ३२ हजार ९८ पटक मोटरसाइकल चालक कारबाहीमा परेका छन् । यस्तै १ लाख ७० हजार ८ सय ४२ पटक ट्रक/ट्याङकर चालक, १ लाख ९ हजार ३ सय ७७ पटक बस/मिनिबस चालक, २ लाख ६१ हजार ६ सय ३६ पटक कार/जिप/भ्यान पटक चालक कारबाहीमा परेका छन् ।
सवारी चालक सचेत भए कारबाहीमा नपर्ने र यसले दुर्घटनाको जोखिम पनि कम हुने नेपाल प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए । राजश्व रकममध्ये सबैभन्दा बढी काठमाण्डौ उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्याङ्कमा उल्लेख छ । मादकपदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङकलन गरिएको प्रनाम ढकालले जानकारी दिए ।