काठमाण्डौ । पोखरा महानगरपालिकाले एकीकृत सम्पति र भूमि करमा १५ र व्यवसायमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधा आगामी असार मासान्तसम्म लागू हुनेछ । महानगरको आइतबार सम्पन्न १४औँ नगरसभाले यससम्बन्धी निर्णय गरेको हो । यसअघि तिरिसकेको हकमा भने आगामी आर्थिक वर्षको तिनुपर्ने करमा समायोजन गर्ने निर्णय नगरसभाले गरेको छ ।
नगरसभाले गठन गरेको दर पुनरावलोकन कार्यदलले विभिन्न योजनासहित दर घटाउने सुझाव दिएपछि नगरसभाले करको दरमा छुट दिने निर्णय गरेको हो । समितिले झण्डै डेढ महिना अध्ययन गरेर प्रतिवेदन नगरसभामा पेस गरेको थियो ।
वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा वडाध्यक्षहरु प्रेमप्रसाद कर्माचार्य, किरण बराल, तोरण बानिया, गंगाबहादुर केसी, वडासदस्यहरु निर्मल दियाली, पूर्णचन्द्र न्यौपाने, शिवराम भण्डारी, कल्पना ढकाल र डाल्डादेवी भुजेलका साथै सदस्यसचिवमा दीपेन्द्र पण्डित थिए ।
पोखरामा भूमि कर अत्यधिक बढेको भन्दै नेपाली कांग्रेस, राप्रपा लगायतबाट चौतर्फी विरोध भएपछि नगरसभा करको दरमा छुट दिन बाध्य भएको हो । यस विषयले कांग्रेस समर्थित सदस्यले कार्यपालिका बैठक नै बहिष्कार गरेका थिए ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times