images
images

नेपालमा गरिबी दर २०.२७ प्रतिशत, सबैभन्दा कम गण्डकी र बढी सुदूरपश्चिममा

images

काठमाण्डौ । नेपालमा २० प्रतिशतभन्दा बढी जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९–८० को तथ्याङ्क सार्वजनिक गर्दै गरिबी दर घटेको बताएको हो । यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६–६७ ले गरिबी दर २५ दशमलव २ प्रतिशत रहेको देखाएको थियो ।

प्रदेशका आधारमा सबैभन्दा कम गरिबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ।

त्यस्तै, शहर र गाउँको तुलनामा सबैभन्दा कम काठमाडौमा सात प्रतिशत र सबैभन्दा धेरै सुदूरपश्चिमका गाउँमा ४० प्रतिशत गरिब रहेको तथ्याङ्कमा उल्लेख छ । सर्वेक्षणका अनुसार धनी र गरिबबीचको असमानता नाप्ने जिनी सूचक शून्य दशमलव ३० पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए ।  यसले असमानता केही घटेको देखाएको हो ।

 

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले भने, ‘‘नेपालमा तय गरिएको गरिबीको नयाँ रेखा भनेको २०.२७ प्रतिशत हो । आजको मेरो प्रस्तुतिको सारांश यही हो । आज पनि नेपालमा करिब २० प्रतिशतभन्दा बढी मानिसहरू न्यूनतम मापदण्डअनुसार खान नपाउने, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप गर्न नपाउने अथवा शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच नपुगेको मान्छेहरूको प्रतिशत अहिले पनि करिब २० प्रतिशत छ भनेर यो पछिल्लो सर्वेक्षणले देखाएको छ ।,’’ कार्यालयका प्रवक्ता रेग्मीले भन्नुभयो, ‘‘प्रदेशगत रूपमा फेरि गरिबीको रेखा त्यहाँ भित्र पनि विभेद छ भन्ने देखिन्छ । सबैभन्दा कम गरिबी गण्डकी प्रदेशमा देखिएको छ । बागमती सँगसँगै छ । त्यसपछि कोशी प्रदेशमा छ । सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा देखिएको छ । यो सात वटा प्रदेशको हामीले तुलना गर्‍यौँ भने लुम्बिनी र कर्णाली पनि पछाडि पछाडि छन् । मधेश र लुम्बिनीको उस्तैउस्तै छ । कर्णालीमा सुधार भएको देखिएको छ पछिल्लो प्रतिवेदनअनुसार । सुदूरपश्चिममा अहिले पनि करिब ३४ प्रतिशत गरिबी छ ।’’

यसअघि जिनी सूचक शून्य दशमलव ३३ थियो । जिनी सूचक शून्य हुँदा समान अवस्था बुझिन्छ भने जिनी एक हुनु भनेको असमानता चरम अवस्थामा पुग्नु हो । सर्वेक्षणले दुई प्रतिशत परिवारसँग कार र २५ प्रतिशत परिवारसँग मोटरसाइकल रहेको देखाएको छ । २०७९ सालको असार १ गतेदेखि २०८० जेठसम्म ९ हजार ६ सय घपरिवारबाट नमुना भरेर प्रतिवेदन तयार पारिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

नेपालमा २०३४ सालदेखि गरिबी सर्वेक्षणको काम शुरु भएको हो । त्यसबेला ३६ प्रतिशत गरिबी थियो । २०४८ सालमा गरिबी ४९ प्रतिशत पुगेको थियो । कार्यालयले गरिबीको रेखा निर्धारण गर्न आम्दानी, खर्च र बहुआयामिक आधार मापदण्ड बनाएको थियो ।

images