काठमाण्डौ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।
आज मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको छ ।
कांग्रेस उपसभापति धनराज गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका थिए । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धन बनेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
उपसभापति गुरुङले कांग्रेसका कारणले नभएर प्रधानमन्त्रीको काँध फेर्ने प्रविधिका कारण गठबन्धन भत्किएको बताए । उनले कांग्रेसले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए ।
यस्तै कांग्रेसले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । यस्तै कांग्रेसले तत्काल सत्ताको खेलमा नलाग्ने बताएको छ ।