images

मन्त्रिपरिषद् विस्तारः गृह र अर्थमा किचलो, नेपाल फकाउँदै प्रचण्ड र ओली

images

काठमाण्डौ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो नलागेकाले मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुने भएको हो । सरकारमा सहभागी हुने दलको टुंगो लागेपछि मन्त्रालयको भागबन्डा हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएपछि केही दलले सरकारमा सहभागी हुनेबारेमा निर्णय गर्न नसकेर आन्तरिक छलफलमा छन् ।

नेपाली कांग्रेससहितको गठबन्धन तोडेर प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)सहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाएका छन् । यी दलका बीचमा आठबुँदे सहमति गर्दै नयाँ गठबन्धन बनेको थियो ।

images

 

पुरानो गठबन्धनमा रहेका नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहितका दललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले प्रयास जारी राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठक मन्त्रालयको भागबन्डा सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो लागेसँगै टुंग्याउने छलफल गर्दै सकिएको छ । सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो नलागेका मन्त्रालयको भागबन्डा पनि लाग्न नसकेको बालुवाटार स्रोतले जनाएको छ ।

‘कुन–कुन मन्त्रालय, कसले लिने भन्दा पनि कुन–कुन दल सरकारमा आउने भन्ने विषयमा छलफल चलिरहेको छ, सरकारमा सहभागी हुने दलको टुंगो लागेपछि मन्त्रालयको भागबन्डा पनि सजिलैसँग टुंगो लाग्छ, प्रधानमन्त्रीज्यू विभिन्न राजनीतिक दलसँग आन्तरिक छलफलमा हुनुहुन्छ, केही दिन पर्खिनुपर्ने हुन्छ,’ बालुटार स्रोतको भनाइ छ ।

आठबुँदे सहमतिमा हस्ताक्षर गरेकै दल जसपाले प्रधानमन्त्री प्रचण्डले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्रीको नाम दिएन । जसपाले मन्त्रीको नाम नदिएपछि प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डीपी अर्याललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । मन्त्रालयको भागबन्डा नटुंगिएकाले प्रधानमन्त्री प्रचण्डले तीनै जना मन्त्रीलाई विनाविभागीय राखेका छन् ।

मन्त्रालयको भागबन्डा टुंग्याउन र सरकारको नीति, कार्यक्रम, प्राथमिकतालगायतबारेमा टुंगो लगाउन गठबन्धनले एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले र जसपा नेता राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल बनाएको छ । कार्यदलको बैठक बसे पनि सरकारमा सहभागी हुने सबै दलको टुंगो नलागेकाले मन्त्रालय भागबन्डाबारे गम्भीर रूपमा छलफल हुन नसकेको एक नेताले बताए ।

एमाले महासचिव शंकर पोखरेलले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भइरहेको बताए । ‘प्रयास भइरहेको छ, हामी जतिसक्दो चाँडो मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छौं,’ पोखरेलले भने । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि पोर्टफोलियोबारे छलफल भइनसकेकाले मन्त्रिमण्डलले पूर्णता पाउन समय लाग्ने जनाएका छन् ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता राजेन्द्र गौतमले सरकारमा सहभागी हुने दलको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तारसँगै सरकारको नीति तथा कार्यक्रमसमेत आउने बताए ।

गृह र अर्थमा किचलो

नयाँ गठबन्धन बनेसँगै महत्वपूर्ण मानिने गृह र अर्थमा दलहरूले दाबी गरेका छन् । गृह र अर्थमा एमाले, माओवादी केन्द्र र रास्वपा तीनै दलले दाबी गरेपछि सत्तारूढ दलमा शक्ति बाँडफाँटको विषय पेचिलो बन्ने देखिन्छ । माओवादी पछिल्लो समय अर्थ छोड्नै नहुने निष्कर्षमा पुगेको छ । गृहमा आफूलाई निरन्तरता दिनुपर्ने पक्षमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लागेका छन् । यसबारेमा श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार बिहान पुगेर छलफलसमेत गरिसकेका छन् ।

तर, गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले एमालेले गृह र अर्थ पाउनुपर्ने दाबी गरेको छ । यी दुईमध्ये एक अनिर्वाय रूपमा एमालेले आफूसँग राख्न खोजेको छ । प्रचण्ड र ओलीका बीचमा गृह एमाले र अर्थ माओवादीले राख्ने आन्तरिक सहमति भइसकेको स्रोतको दाबी छ ।

उता, रास्वपा सभापति रवि लामिछानेकै नेतृत्वमा गृह मन्त्रालयसहित सरकारमा जान रास्वपा चाहन्छ । रास्वपाले गत १० पुसकै पोजिसनमा सरकारमा आफ्नो सहभागिता हुनुपर्ने जनाएको छ । रास्वपाले गृह तथा उपप्रधानसहित तीन मन्त्रालय पाएको थियो भने एक राज्यमन्त्रीसमेत पाएको थियो । रास्वपाले गृहसहित चार मन्त्रालयमा दाबी गरेको छ । गृहमा अरूले दाबी गरे पनि रास्वपाले गृह छोड्न नसक्ने जनाएको छ । रास्वपा उपसभापति डा। स्वर्णिम वाग्लेले गृहसहित चार मन्त्रालयमा पार्टीको दाबी रहेको जनाएका छन् ।

नेपाल फकाउँदै प्रचण्ड र ओली

यसैबीच, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी गराउने कसरत भइरहेको छ । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन सत्ता गठबन्धनका नेताहरू दौडधुपमा लागेका छन् । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । साथमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल पनि छन् । उनीहरूले अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

सोमबार साँझ मात्र प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न पुगेका थिए । त्यतिबेला पनि उनीहरूले अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले आफूले पार्टीमा छलफल गर्ने जनाएका छन् ।mनेपालले आफूहरूलाई जानकारी नै नगराएर गठबन्धन तोडेको भन्दै असन्तुष्टि पोखेका थिए । सोमबार बेलुका नै एमाले अध्यक्ष ओलीले पनि फोन गरेर नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।राजधानी दैनिकमा खबर छ ।

images