images

नापतौल यन्त्रको नवीकरण नगर्ने ४ हजार ७४१ व्यापारी कारबाहीमा

images

काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाण्डौले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।

 

images

कार्यालयले गएको साउनदेखि पुससम्मको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिबाना गरेको हो । कार्यालयका प्रमुख राकेशकुमार झाले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गरेर आमउपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको बताए ।

 

कार्यालयले साउनदेखि पुस मसान्तसम्म एक हजार तीन सय ८२ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गरेको छ । यसैगरी चार हजार ३३ नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच, एक सय दुई पेट्रोल पम्प जाँच र दुई हजार छ सय १८ ट्याक्सी मिटर जाँच गरेको जनाएको छ ।

 

कार्यालयले व्यापारीको सहजताका लागि डोर टू डोरु अभियानसमेत सञ्चालन गरिरहेको छ । डोर टू डोरु अभियानअन्तर्गत कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान गर्ने, अनियमित गर्नेलाई कारबाही गर्ने, जाँच नवीकरण गर्नेलगायत काम गर्दै आएको कार्यालय प्रमुख झाले बताए ।

 

कार्यालयले अहिले काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवा गरी नौ जिल्लामा नापतौलको अनुमति प्रदान, नवीकरण, अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

images