काठमाण्डौ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले मंगलबारमात्रै माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए ।
भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएको २४ घण्टा नहुँदै माओवादीले समर्थन नै फिर्ता लिएको हो ।
माओवादी केन्द्र गण्डकी संसदीय दलको नेता हरिबहादुर चुमानले प्रदेशसभा सचिव हरिराज पोख्रेललाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।
माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
गण्डकी प्रदेश सभा ६० सदस्यीय छ। प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, जनमोर्चाका तीन, जनता समाजवादी पार्टी (जसपा) का दुई र एक जना स्वतन्त्र सांसद छन्। सरकार गठनका लागि ३१ सांसद चाहिन्छन्।