धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएपछि अल्पमतमा परेको हो ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो ।
समाजवादीकातर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् । शाहीको उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ ।
माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । जबकि सरकार जोगाउन २७ जनाको समर्थन चाहिन्छ ।
नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन् । संसदीय दलका नेता घनश्याम चौधरी पर्ख र हेरको अवस्थामा पार्टी रहेकाले अहिले नै सरकारको विषयमा कुनै निर्णय नभएको बताउँछन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times