काठमाण्डौ । विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको सात महिनामा तथ्यांकमा रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो ।
उक्त तथ्यांक अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई रु८३९ अर्ब पुगेको छ ।
नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १५८,५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३१४,७६७ र १६७,७०८ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २०।० प्रतिशतले वृद्धि भई रु ९१० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times