काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ ।
यस्तै आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ । बैंकका अनुसार विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढ्नुका साथै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको पनि बैंकले जनाएको छ ।