काठमाण्डौ । यो साता सेयरबजार पाँचै दिन कारोबार घटेको छ। बिहीबार पनि नेप्से २.७३ अंकले घट्यो । आज नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो। साताको अन्तिम कारोबार दिन ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता सेयर ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
योसँगै आजको कारोबारमा सामेलमध्ये १०६ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
यसअघि बुधबार ३.४३ अंकले, मंगलबार १.८५ अंकले, सोमबार ६.२६ अंकले र आइतबार १७.३० अंकले बजार घटेको थियो।अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने केही वृद्धि देखिएको छ।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल र वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७।२४ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको २३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार सूचक हरियो छन् भने बाँकी सूचक राताम्य छन्।