काठमाण्डौ । विशेष अदालतले सेयरको भित्री कारोबार (इन्साइड ट्रेडिङ) का आरोपी गुरुप्रसाद न्यौपानेलाई २ वर्ष कैद सजाय सुनाएको छ। बिगो र जरिवाना गरी करिब ६ करोड रूपैयाँबराबर रकम असुल्नुपर्ने ठहर पनि अदालतले गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार न्यौपानेले आफै अध्यक्ष रहेको कम्पनीको भित्री सूचनामा भएको पहुँचको दुरुपयोग गरी गैरकानुनी रूपमा १ करोड ९९ लाख १० हजार रूपैयाँ लाभ लिएको ठहर गरेको छ। यो बिगो रकमसँगै यसको दोब्बरले हुने ३ करोड ९८ लाख २० हजार रूपैयाँ जरिवाना पनि हुने फैसला सुनाएको छ।
यो सबै रकम जोड्दा ५ करोड ९७ लाख तिर्नुपर्ने देखिएको छ। उनी ७३ वर्षका ज्येष्ठ नागरिक भएकाले २ वर्ष कैद ठहर भए पनि ५० प्रतिशत छुट पाउने भएकाले १ वर्ष मात्रै कैद गर्न पनि फैसलामा भनिएको छ।
गत चैत ७ गते न्यौपानेलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेकामा आइतबार सजाय निर्धारण गरेको हो। रिडी हाइड्रोपावर डेभलपमेन्ट प्रालिका अध्यक्ष छँदा उनले सेयरको भित्री कारोबार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो। सम्पत्ति शुद्धीकरण विभागले उनका विरूद्ध गत कात्तिकमा मुद्दा दायर गरेको थियो।