काठमाण्डौ । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारवाही गरेरै छाड्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा बाल्दै उनले सहकारीको प्रभावकारी नियमनका लागि बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका हुन् ।
उनले सहकारीमा यस्ता किसिमका गोष्ठीले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने धारणा राखे । ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही सर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उनले भने ।
अहिले सहकारीमा प्रणालीगत समस्या र अर्को गैर प्रणाली समस्या रहेको बताउँदै उनले सहकारी ऐन र मूल्य मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर समाधानको बाटोतर्फ लाग्नु पर्ने धारणा राखे ।
‘सबैले मःम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ, यसमा सञ्चालकको बदमासी कति छ, यो विषय पनि समीक्षा हुनुपर्छ,’ उनले भने ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times