images

चेम्बरद्वारा अर्थतन्त्रको वर्तमान अवस्थाबारे एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवं चेम्बरका पदाधिकारी टोलीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराएको हो ।

images

अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गर्नुपर्ने विषयमा चेम्बरले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशत सम्मको गिरावट आएको बताए । शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान एवं निजी क्षेत्रको मनोबल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले बताए । आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरू स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्वहरू देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले आफ्नो धारणा राखेको छ ।

विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरूलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ । यस्तै करका कारण विवादित मुद्दाहरुको यथाशीघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरेको छ ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई सर्वोपरि ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए । निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने अध्यक्ष ओलीले बताए ।

images