काठमाण्डौ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १० महिनासम्म सरकारको आम्दानी ८ खर्ब ५७ अर्ब रहेको छ भने खर्च १० खर्ब ५६ अर्ब पुगेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्म सरकारको आम्दानीको तुलनामा खर्च झन्डै २ खर्ब बढी देखिएको छ । जुन आम्दानी भन्दा खर्च १ खर्ब ९९ अर्बले बढि हो ।
कार्यालयको तथ्याङ्क अनुसार राजस्व सङ्कलन समेत लक्ष्य अनुसार भएको छैन । । हिजोसम्म ८ खर्ब ३१ अर्ब ९३ करोडमात्र राजस्व उठेको छ । जुन लक्ष्यको ५८ दशमलब ४८ प्रतिशत हो ।
राजस्वमा पनि कर राजस्वको संकलन ५७ दशमलब २१ प्रतिशत मात्र देखिन्छ । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष सरकारले अनुदानबाट २ अर्ब ७५ करोडमात्र प्राप्ति गर्न सकेको छ । यो लक्ष्यको ५ दशमलब ५२ प्रतिशत हो । अन्य प्रकारको आम्दानी २२ अर्ब ३३ करोड छ ।
यसअनुसार वैशाखसम्म सरकारको कुल आम्दानी ८ खर्ब ५७ अर्ब रुपैयाँ बराबर देखिन्छ । यस्तै चालु आर्थिक वर्षको १० महिनामा पूँजीगत खर्च ३७ प्रतिशत पुगेको छ । कुल ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले वैशाख मसान्तसम्म १ खर्ब ११ अर्ब ८८ करोडमात्र खर्च गर्न सकेको छ । यो लक्ष्यको ३७ प्रतिशत मात्र हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेट खर्च १० खर्ब नाघेको छ । जुन लक्ष्यको ६० दशमलब ३५ प्रतिशत हो । कार्यालयका अनुसार चालु खर्च भने ७ खर्ब ५२ अर्ब बराबर भएको छ । यस वर्ष सरकारले ११ खर्ब ४१ अर्ब बराबर चालु प्रकृतिको खर्च गर्ने लक्ष्य राखेको छ । यसभित्र तल्लो सरकारमा जाने विभिन्न प्रकारका अनुदान समेत समावेश हुन्छ । वित्तीय व्यवस्थातर्फ यस वर्ष १० महिनामा १ खर्ब ९२ अर्ब खर्च भइसकेको छ । यो लक्ष्यको ६२ दशमलब ६ प्रतिशत हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य छ ।