चितवन । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आहृवान भएको ठेक्का (बोलपत्र) रद्द भएको छ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि फागुन १७ गते ठेक्का आहृवान गरेको थियो ।
महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि ठेक्का आहृवान गरेको थियो । तर, भरतपुर महानगरपालिका नगर कार्यपालिकाले मंगलबार क्रिकेट रंगशालाको ठेक्का रद्द गरेको हो ।
‘भरतपुर महानगरबाट फागुन १७ मा आहृवान गरिएको बोलपात्र यस कार्यालयको मिति २०८१–०१–३१ को निर्णयबमोजिम रद्द गरिएको सम्बन्धित सबैको जानकारी लागि सूचित गरिन्छ,’ सार्वजनिक सूचनामा भनिएको छ ।
भरतपुर महानगरपालिका(१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरपालिकाले यसअघि सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आहृवान गरेको थियो ।
पहिलो चरणमा रंगशालामा १० हजारजना क्षमताको स्ट्याण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर बिल्डिङ निर्माण हुने जनाइएको थियो । यसअघि बागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला ठेक्का आहृवान भएसँगै निर्माण गर्ने निश्चित भएको थियो तर अहिले ठेक्का रद्द भएको हो । रंगशालाको सबै काम पूरा गर्न साढे तीन अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।