काठमाण्डौ । स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत पोखराले तनहुँस्थित व्यास नगरपालिकामा पुनःमतगणना गर्न आदेश दिएको छ ।
२०७९ वैशाख ३० मा भएको निर्वाचनमा सो नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने मेयर पदमा विजयी भएका थिए । मेयर पदमा पराजित घोषणा गरिएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणना माग गर्दै उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।
दीपकराज कांग्रेस पूर्वमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । २५२ मतान्तरले पराजित उनी निर्वाचनमा धाँधली भएको भन्दै अदालत पुगेका थिए । जोशीले नगरपालिकाको १ देखि ८ वडासम्म आफूले जितेको परिणाम सुनाइएको, तर ९ देखि १४ वडासम्मको मतगणनामा षडयन्त्र गरी विपक्षीलाई विजयी घोषणा गरिएको दाबी गरेका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएका हुन् ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times