काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन्। खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् ।
बैंक सञ्चालक समितिको आज जेठ १० गते बसेको बैठकले खनाललाई बैंकको सीईओमा नियुक्त गरेको हो। उनलाई ४ वर्ष अवधिका लागि सीईओमा नियुक्त गरिएको जनाइएको छ ।
वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् ।
बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु सीईओको जिम्मेवारी समेत पाएका थिए ।
यसअघि बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिले सीईओ पदका लागि पाँचजनाको नाम सर्टलिस्ट गरेको थियो । जसमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए। बाँकी चारजना उम्मेदवारलाई पछि पार्दै खनाल सीईओमा नियुक्त हुन सफल भका हुन्। उनी यसअघि बैंकको कामु सीईओ थिए।
समितिले सीईओका लागि सर्टलिस्ट भएका उम्मेदवारहरुको अन्तरवार्ता तथा प्रस्तुतीकरण हिजो जेठ ९ गते लिएको थियो। शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने पाँच उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको थियो।
उम्मेदवारहरुले अन्तर्वार्तामा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरेका थिए। सोही आधारमा सञ्चालक समितिले ती ५ जनामध्ये खनाललाई सीईओ नियुक्त गरेको हो।