काठमाण्डाै । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ । विश्व बजारमा बुधबार बिहान ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल ७७.५२ डलर कायम भएको छ ।९० डलरमाथि पुगेको कच्चा तेलको मूल्य केहिदिन यता लगातार घट्ने क्रममा छ । पछिल्ला दिनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर आसपासमा रहेको छ ।पछिल्लो एक सातामा कच्चा तेलको मूल्य औसत ८ प्रतिशतले घटेको छ ।
डब्लूटीआई कच्चा तेलको मूल्य पनि एक सातामा ८.३ प्रतिशतले घटेको छ । आयलप्राइस डटकमका अनुसार अमेरिकामा पेट्रोलियम मौज्दात बढ्दा त्यसले समग्र मूल्यमा प्रभाव पारेको हो । अमेरिकी ऊर्जा विभागको तथ्यांक अनुसार अमेरिकामा हाल मौज्दात तेलको परिमाण ३४ करोड ब्यारेल पुगेको छ, जुन परिमाण मे ३१ यताकै उच्च हो । उता चीनमा घट्दो मागका कारण पनि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो । चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता देश हो ।
पेट्रोलियम उत्पादक तथा निर्यातकर्ता देशहरु र यसका साझेदारहरुको संस्था ओपेक प्लसले तेल उत्पादन कटौती सन् २०२५ सम्मका लागि लम्ब्याउने सम्झौता गरेसँगै विश्वबजारमा यसको मूल्य घट्न थालेको हो ।ओपेक प्लसले सन् २०२५ सम्म दैनिक २.२ मिलियन ब्यारेल कच्चा तेल स्वेच्छाकारी रुपमा कटौती गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।
अन्तरराष्ट्रिय बजारमा आएको मूल्य गिरावटले नेपालमा पनि असर पार्दछ । कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसन(आईओसी) ले नेपाललाई दिने तेलको मूल्य पनि घट्ने गरेको छ ।हाल नेपालमा पेट्रोल प्रतिलिटर १६५.५० रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर १५..५० रुपैयाँका दरले कारोबार भइरहेको छ । एजेन्सीहरु
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times