काठमाण्डाै । नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्दीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
जसअनुसार केन्द्रीय बैंकले वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख, विकास बैंकमा २१ करोड ४५ लाख र फाइनान्स कम्पनीहरुमा ७ करोड १५ लाख गरी कुल १ अर्ब ४३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने छ ।
उक्त निक्षेप २०८१ असार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो। उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले जेठ २७ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरि सक्नुपर्ने छ।उक्त निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्थाको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ।
त्यसैगरी,राष्ट्र बैंकले निक्षेप लिनको लागि निस्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने,कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने लगायतका शर्तहरु राखेको छ ।