काठमाण्डाै । नेपाल धितोपत्र बोर्डले शुक्रबार ३२ औं वार्षिकोत्सव मनाउँदै छ ।बोर्डले एक सूचना जारी गर्दै ३२ औं वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रमसमेत आयोजना गर्दैछ ।
२०८१ जेठ २५ देखि ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा धितोपत्र बोर्डले नेपाल धितोपत्र बोर्ड, वार्षिकोत्सव लेख विशेषाङ्क-२०८१ विशेषांक पनि सार्वजनिक गर्ने भएको छ। नेपालको धितोपत्र बजारको नियमन र सुधार तथा विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम स्थापित नेपाल सरकारको पूँजीबजारको नियमन निकाय नेपाल धितोपत्र बोर्ड हो ।
नेपाल धितोपत्र बोर्डको स्थापना विसं २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई प्रथम संशोधन गरी धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्न सरकारले २०५० जेष्ठ २५ मा धितोपत्र बजारको नियमनकारी निकायको रूपमा भएको हो ।
साथै, यसले वस्तु विनिमय बजारको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, वस्तुको कारोबार, राफसाफ तथा फस्र्योट र वेयर हाउस सञ्चालनसम्बन्धी व्यवसायलाई नियमन गर्न वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ जारी भएपश्चात् बोर्डमा वस्तु विनिमय बजारको नियमन गर्ने जिम्मेवारीसमेत पाएको छ ।
तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि पाँच महिनाभन्दा बढी समयदेखि धितोपत्र बोर्ड नेतृत्व विहिन अवस्थामा छ ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times