logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • मन्त्रालयबाट अध्यक्ष ल्याइएपछि कर्मचारी असन्तुष्ट, ‘अर्थमन्त्रीले हस्तक्षेप गरे’

    मन्त्रालयबाट अध्यक्ष ल्याइएपछि कर्मचारी असन्तुष्ट, ‘अर्थमन्त्रीले हस्तक्षेप गरे’

    637
    SHARES
    मन्त्रालयबाट अध्यक्ष ल्याइएपछि कर्मचारी असन्तुष्ट, ‘अर्थमन्त्रीले हस्तक्षेप गरे’

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले बाेर्डकाे अध्यक्ष नियुक्तिकाे विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । धितोपत्र बोर्डले शुक्रबार ३२औं वार्षिकोत्सव आयोजना गरेको ३२औं वार्षिकोत्सबमा बोर्डका कर्मचारीले अध्यक्षको नियुक्तिको विषयमा असन्तुष्टि पोखेका हुन् ।



    अर्थमन्त्रालयले मन्त्रालयका सहसचिव नरेन्द्र रानालाई पहिले सदस्य र त्यसपछि अध्यक्षकै हैसियतमा काम गर्ने गरी पठाएपछि उनीहरूले असन्तुष्टि पोखेका हुन् । धितोपत्र बोर्ड कर्मचारी यूनियनका अध्यक्ष राजु बहादुर जीसीले सेबोनलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा हस्तक्षेप भएको धारणा राखे । पुँजी बजारका लक्ष्य अनुरूप काम गर्न नेतृत्वमा कडा रूपमा प्रस्तुत हुने र जुझारू व्यक्ति हुनुपर्ने उनको भनाइ छ । तर, ६ महिनासम्म अध्यक्ष पद रिक्त रहँदा समस्या भइरहेको उनले बताए ।

    ‘अध्यक्ष नियुक्ति प्रक्रिया किन रोकिएको हो ? मन्त्रीज्यूलाई पनि मतलब छैन । सरकार, मन्त्रालयलाई मतलब छैन । पुँजी बजारका लागि कति गम्भीर्यता छ भन्ने विषय सोचेको छैन,’ उनले भने, ‘पछिल्लो समय ऐन संशोधन हुँदा धितोपत्र बोर्ड स्वायत्त र अझै शसक्त रूपमा अगाडि बढ्ने अवसर प्राप्त होला भन्ने लागेको थियो । तर, संकुचन गरेको अनुभव पायौं ।’

    उनका अनुसार एक मिनेट पनि अध्यक्ष पद रिक्त नराख्नुको पर्ने धितोपत्र बोर्डमा अर्थमन्त्रालयको प्रतिनिधिले अध्यक्षको हैसियतमा काम गर्ने अधिकार प्रत्यायोजन गरेर लूपहोलमा खेलेका छन् । यसले पुँजी बजारमा नकारात्मक प्रभाव पर्ने उनले बताए । विभिन्न निकाय मन्त्रालय, अख्तियार, महालेखापरीक्षक कार्यालय, लेखा समितिबाट विभिन्न निर्देश जारी हुँदा विरोधाभास उत्पन्न भएको उनको धारणा छ ।

    ‘राना सर पनि कर्मचारी हो । उहाँका पनि आफ्ना सीमा छन् । उहाँ ४ दिनका लागि होकी ४ वर्षका लागि अध्यक्ष भएर आउनु भएको हो ? यदि ४ वर्षका लागि हो भने नीति नियम बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘संक्रमणकाल व्यवस्थापन गर्न आउनु भएकाले के गर्ने के नगर्ने भन्ने विषय होलान् । त्यसैले सम्पूर्ण काम अगाडि बढ्छन् भन्ने लाग्दैन,’ उनले भने, ‘एउटा नियममा टेकेर कर्मचारीले काम गरेका हुन्छन् । तर, विभिन्न निकायबाट निर्देशन आउँदा काम गर्न अप्ठेरो भइरहेको छ । यदि गलत छ भने ऐन नियम संशोधन गर्नुपर्छ । होइन भने काम गर्न दिनुपर्छ ।’

    उनले बजारकाे विकासका लागि आफ्नै भवन हुनु पर्ने धारणा राखे । वर्षाैंदेखि आफ्नै भवनका लागि आवाज उठाउँदा पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । ‘हामी आफ्नो घरमा छैनौं भने प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन सक्दैन । पुँजी बजारको विकास लागि पनि सेबोनको आफ्नै भवन आवश्यक छ,’ उनले भने ।

    पटक-पटक ठाउँ सारीले संस्थागत मेमोरी कायम नहुने र बोर्डको काम कारवाहीमा समेत असहजता हुने गरेको कर्मचारीहरूको गुनासो छ । राष्ट्रको सर्वाङ्गिण विकासका लागि आवश्यक पुँजी परिचालन गर्ने अंगको रूपमा रहेको बोर्डले ७ सयभन्दा धेरै संस्थाहरूलाई प्रत्यक्ष नियमन गर्दछ । तर, आफ्नै भवन नहुँदा बोर्डको संस्थागत क्षमता अभिवृद्धि हुन नसकेको धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेल बताउँछन् ।

    साथै, विगत पाँच/छ महिनादेखि सबोन नेतृत्व विहिन छ । अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढेको भएपनि टुप्पोमा पुगेर रोकिएको छ । तर, केही नेपाल ऐन संशोधनमा बोर्डको अध्यक्ष रिक्त हुँदा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्यले नै अध्यक्षको हैसियतमा कार्य गर्ने व्यवस्था छ । तत्कालको लागि समस्या समाधान भएपनि दिर्घकालमा नियामकीय कार्यात्मक स्वायत्तता कमजोर हुने पौडेलको भनाइ छ । लामो समयसम्म अध्यक्ष विहिनताको अवस्था सिर्जना हुन सक्ने, पुँजी बजारको विकास एवं विस्तारमा गर्नुपर्ने कार्य समयमा नहुने उनले बताए ।

    ‘लामो समय पूर्णकालिन अध्यक्ष रिक्त हुँदा बोर्डको कार्यसम्पादनमा असर गर्ने,समग्र वित्तीय प्रणालीको महत्त्वपूर्ण अंगको रूपमा रहेको पूँजी बजार मार्फत हुने पुँजी परिचालन, लगानीकर्ताको हित संरक्षण र बजारको विकास एवं विस्तारमा नकरात्मक असर पर्छ,’ उनले भने, ‘यो जोखिमलाई मध्यनजर गर्दै यथाशिघ्र पूर्णकालिन अध्यक्ष नियुक्त गर्नुपर्छ ।’

    राजस्व सचिव डा.रामप्रसाद घिमिरेले सेबोनको भवन निर्माण प्रक्रियाका लागि आफूले मन्त्रालयमा पहल गर्ने बताए । जोखिम क्षेत्र पहिचान गरी सुपरिवेक्षणमा सेबोनले जोड दिनुपर्ने उनको भनाइ छ । पुँजी बजारमा गतल प्रवृति बढेकाले नियमन बढाउनु पर्ने उनले बताए । बजारलाई उत्पादन क्षेत्रका रूपमा परिचालन र विकास गर्नु पर्ने उनको धारणा छ ।

    ‘पुँजी बजारमा अस्वभाविक उतारचढाब हुने गरेको छ । बोर्डले प्रभावकारी नियमन गर्न सक्रिय हुनुपर्छ । आम लगानीकर्ताको मनोबल बढाउन पर्ने देखिन्छ । जमेको पुँजी परिचालन गर्नुपर्छ,’ उनले भने, ‘लगानिकर्ता थपिदै छन् । डिम्याट सख्या वृद्धि भइरहेकाले अवसर समेत सिर्जना भएका छन् ।’

    अध्यक्ष धितोपत्र बोर्ड नरेन्द्र कुमार रानाले ऐनले व्यवस्था गरेबमोजिम अध्यक्षको हैसियतमा काम गरिरहेको बताए । सरकारले तत्काल अध्यक्ष चयन गरी कामकारबाही अगाडि बढाउनु पर्ने उनको भनाइ छ । पुसदेखि ठप्प बजारलाई चलायमान गर्नेतर्फ आफ्नो पहल हुने उनले प्रतिवद्धता जनाए । अध्यक्ष रानाले जग्गा प्राप्तिका विषयमा उपत्यका विकास प्राधिकरणसँग आफूले कुरा गरिरहेको र यो समस्या छिट्टै समाधान हुने उनले बताए ।


    अर्थ चौतारी
  • शनिबार, २६ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved