logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • कैफियत भेटिएका सहकारीलाई सुधार गर्न नेपालगञ्ज उपमहानगरको निर्देशन

    कैफियत भेटिएका सहकारीलाई सुधार गर्न नेपालगञ्ज उपमहानगरको निर्देशन

    637
    SHARES
    कैफियत भेटिएका सहकारीलाई सुधार गर्न नेपालगञ्ज उपमहानगरको निर्देशन

    काठमाण्डौ । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमन गरेर कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन दिएको छ।

    नेपालगञ्ज उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखा प्रमुख प्रवीण रानाले अनुगमनका कममा दिएको निर्देशन पालना नगरे आगामी आर्थिक वर्षमा पालिकाभित्रका सहकारीलाई खारेजीसम्मका प्रक्रियामा लैजान सकिने जानकारी दिए।

    ‘बैठक समयमा नबसेको, ऋण दिँदा कागजात नमिलेकोलगायत विभिन्न समस्या देखिएका छन्’, प्रमुख रानाले भने। उनले ऋणीले रकम फिर्ता नगर्दा बचतकर्ताले बचत नपाएको अवस्था पनि रहेकाले त्यसलाई सुधार गर्न निर्देशन दिइएको बताए। नेपालगञ्ज उपमहानगरपालिकाभित्र एक सय १२ सहकारी छन्। तर उपमहानगरपालिकाले सम्पर्कमा आउन गरेको सूचनामा जम्मा ६९ सहकारी मात्रै सम्पर्कमा आएको बताइएको छ।

     

    ‘निष्क्रिय सहकारी निश्चित गरेका छैनौँ, एकपटक फेरि सूचना जारी गरेर निष्क्रियलाई खारेजीको प्रक्रियामा जान्छौँ’, सहकारी शाखा प्रमुख रानाले भने। नेपालगञ्ज उपमहानगरपालिकाले बचत तथा ऋण सहकारीको अनुगमनलाई प्राथमिकता दिएको छ। सहकारी शाखा प्रमुख राना प्रत्येक वर्ष एकपटक सहकारीमा पुग्ने योजना रहे पनि जनशक्ति अभावले सम्भव नभएको बताउँछन्।

     

    ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा चालु आवको अन्त्यसम्म पुग्ने प्रयास गरिनेछ’, उनले भने। उपमहानगरपालिकाको सम्पर्कमा रहेका आधा बढी सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन्। उपमहानगरपालिकाले सहकारी सुधार अभियानअन्तर्गत नगरभित्रका सहकारीको अनुगमन गरिरहेको छ। चालु आवमा १५ सहकारीमा अनुगमन भइसकेको छ। सहकारी अनुगमनका लागि सहकारी शाखा प्रमुखको नेतृत्वमा अनुगमन समिति निर्माण गरिएको छ।

    उनले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको उल्लेख गर्दै लापरबाही भेटिए सहकारी ऐनबमोजिम कारबाही गरिने प्रष्ट पारेका छन्। उनी भन्छन्, ‘सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मा जानुको विकल्प छैन।’

    नेपालगञ्ज उपमहानगरपालिकाले चालु आवमा नियमन क्षेत्रभित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास तालिम पनि दिएको थियो। उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी तथा गरिबी निवारण व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरेको थियो। रासस


    अर्थ चौतारी
  • शनिबार, २६ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved