काठमाण्डाै । साताको पहिलो कारोबार दिन आइतबार बजार ४.५९ अंकले घटेको छ । यो दिन बजार घटेर २ हजार ७३.१९ विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक पनि २.१५ अंकले घटेर ३६८.१८ विन्दु कायम भएको छ ।गत साताको अन्तिम कारोबार दिन बिहीबार बजार बढेर २ हजार ७७.७८ विन्दुमा बन्द भएको थियो ।
यो दिन कारोबार भएका ३१३ वटा कम्पनीमध्ये १४७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ । त्यस्तै तीन वटा कम्पनीको शेयरमूल्य स्थिर छ । यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३१३ वटा कम्पनीमा १ करोड ४५ लाख २ हजार १२८ पटकको कारोबारमा ५ अर्ब १८ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार भने ४ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो। गत साता भने बजारमा निक्कै नै उतारचढाव आएको थियो ।
लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको कतिपयको भनाइ छ । नेपाल राष्ट्र बैंकले आइतबार नै आगामी मौद्रिक नीतिको समीक्षाका लागि राय सुझाव दिन अनुरोध गरेको छ । यसले पनि यसकै प्रतीक्षामा लगानीकर्ताहरु बसेको हो कि भन्ने जस्तो देखिन्छ । आगामी साउन महिना १५ गते भित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी छ ।आफू जाँदाजाँदै गर्भनर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति लचिलो हुने बताइसकेका छन् ।
यो दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। यो दिन पाँच वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । जसमा इष्टर्न हाइड्रोपावर,शुभम् हाइड्रोपावर, सिटी होटल,कुथेली बुखारी स्मल हाइड्रोपावर भगवती हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै समालिंग पावर कम्पनीको शेयरमूल्य ९.२८ प्रतिशतले बढेको छ ।
यसैगरी, सयपत्री हाइड्रोपावरको शेयरमूल्य ८.९५ प्रतिशतले बढेको छ । उता यसै दिन बुद्धभुमि हाइड्रोपावरको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । त्यस्तै पोखर फाइनान्सको शेयरमूल्य भने ७.१२ प्रतिशतले घटेको छ । उता लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ६.६६ प्रतिशतले घटेको छ । यो दिन कारोबारको शिर्षस्थामा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ ।उक्त कम्पनीको ३२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै सीईडीबी हाइड्रोपावरको २१ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सिटी होटेलको १३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ भने पोखरा फाइनान्सको १२ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै हाथवे इन्भेस्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो दिन १३ वटा उपसमूहमध्ये पाँच वटा उपसमूहको परिसूचक बढेको छ भने आठ वटा उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशत बढेको छ। त्यस्तै जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशतले घटेको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times