काठमाण्डौ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सञ्चालक समिति पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित सुनिल कुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल, अभिषेक बज्राचार्य पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीका अनुसार, उनलाई आजै पक्राउ गरिएको हो। यो सँगै तत्कालीन सेन्चुरी कमर्सियल बैंकका ९ जना संचालक पक्राउ परेका छन्। बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ। तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा ऋण लगानी गरेको थियो।
त्यसमा करिब ८० करोड रुपैयाँ मात्रै पर्ने धितो राख्दा चौलागाईंलाई सेञ्चुरीले २ अर्ब १२ करोड रुपैयाँ ऋण दिएको खुलेको थियो। कमसल धितोमा अधिक कर्जा लगानी गरेको भेटिएपछि १० जना पक्राउ परेका थिए। यससम्बन्धी अनुसन्धान सीआईबीले गरिरहेको छ।