काठमाण्डौ । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा पक्राउ गरिएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापासहित चार जना सञ्चालकलाई पक्राउ गरेर सार्वजनिक गरेकाे हाे ।
पक्राउ पर्नेमा अध्यक्ष थापा सहित सन्जना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । राजकर्णिकार थापाकी श्रीमति हुन् । कृषि विकास बहुउद्देश्यीय सहकारीले बचकर्ताको २ अर्ब ८२ करोड २७ लाख रुपैयाँ बढी बचत अपचलन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जानकारी दिएको छ । सरकारले २०८० माघमा समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीका २ हजार ५३१ जनाले बचत फिर्ताका लागि उजुरी दिएका छन् ।
काँग्रेस पार्टीका नेता समेत रहेका थापाले राजनीतिक शक्तिका कारण बचतकर्ताको बचत फिर्ता गर्न आनकानी गरेको आरोप बचतकर्ताको छ । सहकारीमा लामो समयदेखि समस्या भएपनि उनले बचतकर्ताको बचत फिर्ता गर्न सकेका थिएनन् । बचतकर्ताका अनुसार सहकारीले पछिल्लो समय ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सकेको थिएन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पनि सहकारीलाई समस्याग्रस्त घोषणा गरेपनि अहिलेसम्म बचत फिर्ताका लागि कुनै पहल अगाडि बढाउन सकेको छैन । अन्ततः प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले आफ्नो श्रीमती सन्जना राजकर्णिकारलाई व्यवस्थापक बनाएर नियतवस सहकारीका बचतकर्ताको बचत ठगेको आरोप बचतकर्ताको छ । उनीविरुद्द पनि प्रहरीमा उजुरी परेको छ । सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि यस सहकारीको नाम उल्लेख गरिएको छ ।