काठमाण्डौ । सरकारले उद्योगहरुसँग भारतबाट चिनी आयातको लागि आशयपत्र मागेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले भारतबाट १९ हजार मेट्रिक टन चिनी आयात गर्न इच्छुक उद्योगहरुसँग आशयपत्र बुझाउन भनेको हो।
भारत सरकारले नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड इन्डियामार्फत बिक्री हुने गरी नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यातको अनुमति दिएको छ। सोमध्ये १९ हजार मेट्रिक टन चिनी कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरुबाट ल्याउन लागिएको हो। यसका लागि इच्छुक उद्योगहरुले आवश्यक विवरणसहित ७ दिनभित्र उद्योग विभागमा आशयपत्र बुझाउनुपर्नेछ।
विभागका अनुसार उद्योगले आशयपत्रमा नाम, ठेगाना र सम्पर्क नम्बर, उद्योग दर्ता नम्बर, दर्ता भएको निकाय र दर्ता मिति, उद्योगको स्किमअनुसार वार्षिक खपत परिमाण, गत वर्षको खपत परिमाण, यो कोटामार्फत ल्याउन चाहेको परिमाण र हाल उद्योग सञ्चालनमा रहे–नरहेको अवस्था खुलाउनुपर्नेछ। यसरी खुलाइएको आशयपत्र इमेलमार्फत पठाउन भनिएको छ।