सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव

images

काठमाण्डाै । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै उनले उक्त धारणा राखेकाे समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

images

सभापति थापाकादअनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको बताएका थिए ।

उनले सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाइनुपर्ने धारणा राखे । सभापति थापाले बैठकमा बैंकर्स एसाेसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए ।

उनले भने, ‘यो समग्र वित्तीय प्रणालीमा सहकारी क्षेत्रमा देखापरेको संकटको प्रभावसहितका विषयमा हामीले उहाँहरूसँग सुझाव माग गरेका छाैं, त्यसमा घनिभुत छलफल भएको छ, नेपाल राष्ट्र बैंकका तर्फबाट त्यहाँका विभिन्न क्षेत्रको नेतृत्व गर्नुभएका कार्यकारी निर्देशकहरूसहित गभर्नरज्यु उपस्थित हुनुभयो, उहाँले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापनको लागि पाँच बुँदामा सुझाव दिनुभएको छ, सहकारीकाे समस्या समाधान गर्न पहिलादेखि नै उठ्दै आएको सेकेण्ड टायर इन्स्टीट्युशन नियामक निकाय बनाइनुपर्छ भन्ने कुरा आएको छ ।’

images