दक्षिण कोरिया । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबार तीनदिने आमहड्ताल सुरु गरेका छन्।
सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउन्ड्री र सेमिकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौँ मजदुर बर्सादी र रिबन लगाएर भेला भएका दसौँ हजार कर्मचारीको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले एएफपीलाई बताए। सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ।
सामसङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ। दुवै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन्। फर्मबाट ५.१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ। ने;नल सामसङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वु मोकले एएफपीसँग भने, “सोमबार हड्ताल सुरु भएको छ। यो त सुरुवात मात्र हो।”
“हामी यहाँ किन छौँ भनेर सम्झँदै, कृपया जुलाई १० सम्म काममा नआउनुहोस् र कुनै पनि व्यावसायिक कलहरू रिसिभ नगर्नुहोस्,” उनले कामदारहरूको भीडलाई सम्बोधन गर्दै भने। युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करिब पाँच हजार २०० व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ। युनियनका उपाध्यक्ष ली ह्युन कुकले भने, “के उनीहरूले यसले सामसङको उत्पादन लाइनलाई असर पार्नेछ भनेर अझै पनि सोचेका छैनन्?”
करिब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आम हड्तालको घोषणा गरेको थियो। श्रमिकहरूले मार्चमा ५.१ प्रतिशत तलब वृद्धिको प्रस्तावलाई अस्वीकार गरेका थिए, युनियनले पहिले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेको थियो। यस सम्बन्धमा टिप्पणीका लागि गरिएको अनुरोध सामसङले अस्वीकार गरेको छ।
सेजोङ विश्वविद्यालयका बिजनेस प्रोफेसर किम डे-जोङले एएफपीसँग भने, “जारी हड्ताल तीन दिनका लागि मात्र तय गरिएको छ, तर सहभागी सदस्यहरूमा चिप एसेम्बली लाइनमा काम गर्नेहरू पनि सामेल छन् । “समस्या जारी रहेमा युनियनले थप हड्ताल गर्न सक्ने भएकाले प्रतिस्पर्धी चिप्स बजारमा प्रभुत्व जमाउने होडबाजीका बीच यसले सामसुङ व्यवस्थापनलाई ठूलो समस्या सिर्जना गर्नसक्छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times