काठमाण्डौ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा कृषि विकास बहुउदेश्यीय सहकारीका १२ जना सञ्चालकसहित १२ जना विरुद्ध मुद्दा दायर भएको छ ।
करिब एक अर्ब अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
परिसरले तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाण्डौको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेर जिल्ला प्रहरी प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो ।
२५ दिन लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुर पठाइएकोमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको परिसरका प्रहरी उपरिक्षक नरेशराज सुवेदीले बताए ।
पक्राउ परेका चार बाहेकलाई फरार प्रतिवादीको सूचीमा राखिएको छ। फरार प्रतिवादीमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य ४४ वर्षीय राज श्रेष्ठ र ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारी छन्।
सहकारीका कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।
यो समूहले ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ अपचलन भएको भन्दै ७२ वटा जाहेरी परेको थियो । सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै सहकारी ठगीको कसुरमा मुद्दा दर्ता भएको छ ।
file image