काठमाण्डौ । साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन्।
२० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्।
वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१३ प्रतिशतविन्दु घटाएका हुन्। असार महिनामा ६.८७ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको औषत ब्याजदर, साउनका लागि घटेर ६.७३ प्रतिशतविन्दुमा झरेको छ।
एनएमबी र एनआइसी एशिया बैंकमा अहिले व्यक्तिगत मुद्दतिमा सबैभन्दा धेरै ब्याज पाइन्छ। साउनको लागि एनएमबी र एनआइसी एशिया दुवै बैंकले अधिकतम ७.५३ प्रतिशत ब्याजदर तोकेका छन्।
एभरेष्ट र कृषि विकास बैंकले ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबिआई बैंकको ब्याजदर स्थिर छ।
राष्ट्र बैंकले समेत बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था गरिदिएको छ। यही नीति अनुसार बैंकहरूले ब्याजदर समायोजन गरेका हुन्।
कतिपय बैंकहरूले साधारण बचतमा न्युनतम ३ प्रतिशतसम्म मात्रै ब्याजदर दिन थालेका छन्। बैंकहरूले राष्ट्र बैंकबाट लिने तरलता सुविधाको न्युनतम ब्याजदर ३ प्रतिशत तोकिएकोले पनि योभन्दा कम नहुने गरेर साधारण बचतको ब्याजदर तोकेका हुन्।
त्यस्तै, संस्थागत निक्षेपकर्ताले व्यक्तिगत निक्षेपकर्ताको भन्दा एक प्रतिशत कम ब्याजदर पाइरहेको छन्।यस अनुसार उनीहरूले मुद्दतिमा औसतम ५.६४ प्रतिशत ब्याज पाउने भएका हुन्।
पछिल्लो समय लगानीकर्ताहरूको आत्मविश्वास घटेको, उपभोग नबढेको कारण बजार मागमा कमी आएको छ। यसले गर्दा बैंकमा कर्जा माग पनि घटेको छ। बैंकको कर्जा नबढ्ने तर निक्षेप थुप्रिने गरेकोले पनि निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको हो।