काठमाण्डौ । सरकारले एक वर्षमा ८२ अर्ब रुपैयाँ ब्याज मात्रै तिरेको छ। वित्तीय व्यवस्थापनअन्तर्गत सरकारले गत आर्थिक वर्षमा ३ खर्ब ५ अर्ब रुपैयाँ भुक्तानी गरेकोमा ८२ अर्ब ब्याज तिरेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋणतर्फ ७२ अर्ब ७६ करोड ब्याज भुक्तानी हुँदा बाह्य ऋणतर्फ ९ अर्ब २६ करोड रुपैयाँ ब्याज तिरेको छ। एक वर्षमा २ खर्ब २३ अर्ब रुपैयाँ सावाँ फिर्ता गरेको छ। सरकारको कुल ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। नेपालको कुल ऋणमा ११ खर्ब ८० अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको छ भने १२ खर्ब ५३ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय ऋण छ।
यो कुल गार्हस्थ्य उत्पादनको आधारमा ४२.६५ प्रतिशत ऋण हो। आन्तरिकतर्फ २०.७० र बाह्य ऋण दायित्व २१.९५ प्रतिशत रहेको छ। गत वर्ष ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण उठाएको छ। आन्तरिक ऋणतर्फ २ खर्ब ३४ अर्ब रुपैयाँ उठाएको छ भने बाह्य ऋणतर्फ १ खर्ब २३ अर्ब रुपैयाँ ऋण उठाएको कार्यालयले जनाएको छ।
सरकारले गत आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब ५८ अर्ब प्राप्त गरेको छ। लक्ष्यको तुलनामा ७९ प्रतिशत उठाउँदा आन्तरिक ऋणतर्फ ९७.६८ प्रतिशत र बाह्यतर्फ ५८.१ प्रतिशत प्राप्त गरेको छ।