काठमाण्डौ । होटल पौवाले खोटाङको हलेसी र सिन्धुलीको मुलकोटमा करिब अर्ब लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएको छ। रुपन्देहीबाट सुरु भएको पौवाले १५ वटा होटल पुर्याएको हो। कम्पनीका अनुसार हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा बिच रिसोर्ट सुरु गरेको छ।
पौवा समूहले सिन्धुलीको मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा रिसोर्ट खोलेको छ। खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए। नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि मिसन १०० को योजनासहित अगाडि बढेको भण्डारीले बताए।
‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेका छौँ। काठमाडौंदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो’, भण्डारीले भने, ‘काठमाडौको भीडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौँ।’
खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दूहरुको साझा तीर्थस्थल भएकोले आन्तरिक र बाह्य धर्मावलम्बीहरुलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकामा रिसोर्ट सञ्चालन ल्याएको पौवाले जनाएको छ। रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ।
नेपालगञ्जमा ५ तारे होटल, १० वर्षमा सय होटल पुर्याउने
पौवा समूहले स–साना लगानी जुटाएर होटल निर्माण गरिरहेको छ। पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशाला हुँदै पुर्वी नेपालमा प्रवेश गरेको छ।
पौवाको ड्रिम प्रोजेक्टको रुपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको छ। भदौबाट केही भाग सञ्चालनमा आउने र निर्माणको काम जारी रहने पौवा समूहले बताएको छ। पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। यसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्रान्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरिरहेको छ।
‘नेपालमा घुम्ने स्थान अथाह छ। हामीले देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो। हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि अहिलेजसरी विदेश पलायनको मनोरोग छ, त्यसलाई रोक्न सकिन्छ। अर्थात्, पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने समेत हो। पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको छ’, पौवाका व्यवस्थापक ध्रुव न्यौपानेले भने।