काठमाण्डौ । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिँदैछ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सोधपुछका लागि समितिले शुक्रबार दिउँसो २ बजे बोलाएको छ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन्। लामिछानेसँगै समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग पनि आजै बयान लिने तयारी गरेको छ। बयानका लागि उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ।
गएको बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले संसदीय छानबिन विशेष समितिले आफूलाई बयानका लागि बोलाएको जानकारी गराएका थिए। काठमाण्डौको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछाने माथि छ।
यी लगायत देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइसकेको छ। करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको झण्डै ९६ करोड रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको आरोप लामिछानेमाथि छ।
लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष भएका बेला गोर्खा मिडिया नेटवर्कमा काठमाण्डौको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा पनि ९५ करोड ८१ लाख रुपैयाँ ल्याई अपचलन गरेको आरोप छ। लामिछाने २०७८ वैशाख ५ देखि २०७९ असार १ सम्म गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times