images

सम्झनामा दिवाली र कटासेका जुवा

images
images

हिक्मत थापा,

बाल्यकालका दिवालीहरु प्राय कटासेमा बिते । स्कुल हुँदा होस वा कलेज दशै तिहारमा लामै बिदा हुन्थे । र दशैं तिहार गाउँमै बित्थ्यो । कटासे बजारमा बर्षैभरिको सबै भन्दा बढी चहलपहल संभवत दिवालीमा नै हुन्थ्यो । हटारुहरु आउन शुरु गरि सकेका हुन्थे । सुन्तलाका रास र घ्युका भारिहरुले बजार भरिन थालेको हुन्थ्यो । तिकुनियाबाट रागाँ र बयल गाडाले नुन ओसार्न शुरु गरि सकेका हुन्थे । सबै चिया पसलहरु मिठाई पसलमा बदलिन्थे । खुवा , बर्फी देखिनका रङ्गिचङ्गी मिठाइहरुले चियापसलका बाहिरी भागको अस्थायी रयाकहरु भरिन्थे । शान्ति होटेल लगाएतका चल्तीका चियापसलहरुले त तिकुनियाबाट भारतिय कारिगर ल्याएर हप्ता अघि देखिन मिठाइँ बनाउन थालेका हुन्थे । मिठाईमा रङ्गको चहक त त्यसै हुन्थ्यो त्यसमाथी चमक वाला कागजको लेपले झनै आकर्षण गरेको हुन्थ्यो ।

धेरै केटाकेटी र गाउँलेको त मिठाइँ चाख्न पाउने दिन बर्षमा त्यै दीवाली हुन्थ्यो । त्यै पनि थरिथरिका ।
मिठाई बाहेक अर्को ठुलो आकर्षण जुवाको हुन्थ्यो । हप्ता दिन अघि देखिन बजारका गल्लीका खुला सडकमा रातभरी म्यान्टोल बालेर ठाउँठाउँमा तास , जुवा , कौडाका खालहरु जमेका हुन्थे । ठुलाँ साना जुवाडेहरु गाउँगाउँबाट आआफ्ना गच्छे अनुसारका खालमा दाउ लगाउन्थे । पछाडी हौसे दर्शक र केटाकेटीहरु जितौरीको आशले हुटिङ्ग र हल्लामा मग्न हुन्थे । त्यै जुवाडेले जित पछि बाडने जितौडीले पनि बिक्री मिठाइकै बढी रहेको हुन्थ्यो ।

केटाहरुका भने लङ्गरबुर्जा देखि तीनपत्तीका आफ्नै ससाना खाल हुन्थे । रातभरिको जुवा पछि भने भोलिपल्ट बिहान कसले कति जित्यो को टाट पल्ट्यो , कसले घरखेत गुमायो भन्ने हल्लाले बजार तात्थ्यो र भोलीपल्ट बेलुका म्यान्टोलको उज्यालोमा फेरि त्यस्तै खाल जम्थे ।

अहिलेको जस्तो देउसी भैलोको खासै चलन थिएन हाम्रो तिर र त्यति धेरै आकर्षण पनि । केटाकेटीको ससाना समुहका भैलो भने देखिन्थे । तर मैले आफुले खेलेको याद भने छैन ।

लक्ष्मीपूजाका दिनमा सेलरोटी ( बाबर ) र पुरी ( लामन ) सबै घरमा पकाइन्थ्यो । बाबर पकाउन सोडा प्रयोग गरिन्न थियो । मालुको रुखको लोक्ता ( बोक्रा) को प्राकृतिक दामन प्रयोग हुन्थ्यो अहिलेको सोडाको ठाउँमा । चिनी राख्ने चलन थिएन । त्यसैले सेलरोटी सेता हुन्थ्यो । त्यो दिन भने जुठो हुन्छ भनेर भात पकाइदैन्थ्यो । सेलरोटी र पुरीको खान्की । यी सेलरोटीहरु त्यस पछिका हप्ता दिन सम्मै बिहान आगोमा पोलेर चियामा चोपेर खाने गरेको स्वाद भने अझ पर्यन्त बिर्सेको छैन ।लक्ष्मीपुजाको बेलुका केराका थाम काटेर दियो बनाइन्थ्यो । तेलमा डुबाएको बातीमा दीप जलाएर , घरको चारैतिर राख्थ्यौ । अलि पछि माटोको दियो र मैनबत्तीले ठाउँ लियो र पछि बिजुली बत्तीले ।

बजारका बर्फी मिठाई र घरका बाबर अनि जुवा तास र लङ्गर बुर्जाको रमिता दिवाली ( त्यार )को यो सम्झनाआज परदेशमा कोरे । सुनसान भए पनि आज कटासेबजारमा बिजुलीबत्तीको झिलिमिली होला नै । त्यतिबेलाको जस्तो जगमग नभए पनि अहिले ४.७१ मेगावाटको कटासे बिजुली उत्पादनकेन्द्रले अरुतिर बिजुली बाडीरहेको छ , होला । जुवाखालको त्यो रमाइलो त छैन होला तर देउसी भैलीका गीत बजेकै होलान । केटाकेटी युवाहरु नाची रहेकै होलान ।

द्वन्दकालको बेला परस्थिती र पछि बिदेशिनु परेको पिडाले छुटेको कटासेको दीवालीको यो सम्झना र तिर्सना अब अर्को साल त त्यतै मनाएर फेरि रहर मेटिएला नैं , वाल्यकालका सम्झना र रहरको धित मर्ने गरि । तर खै कहिले आउँला त्यो अर्को साल ?
सबैलाई दीवाली र त्यार ( तिहार ) को शुभकामना !

 

(कटासे स्थायी घर भइ यतै हुर्के बढेका हिक्मत थापा हाल नाइजेरियामा बस्छन।  )