काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुने भएको छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो ।
गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । ‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश छ ।
यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले परेका १९ आवेदनमध्ये मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई पहिलो चरण (सर्ट लिस्ट)मा छानेको थियो । तीमध्ये श्रेष्ठद्वय त्यतिबेलै अन्तर्वार्तामा सहभागी भए । तर, कार्की, अधिकारी र चापागाईं अन्तर्वार्तामै गएनन् । धितोपत्र ऐनको व्यवस्थाअनुसार छनोट समितिले अध्यक्षका लागि तीन जना सिफारिस गर्नुपर्छ । तर अन्तर्वार्तामा दुई जनामात्र सहभागी भएपछि समितिले कानुनअनुसार तीन जना सिफरिस गर्न सकेको थिएन ।