काठमाण्डाै । चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको साउनदेखि कात्तिकसम्ममा १४ निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले ८ लाख ९७ हजार २३५ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
कात्तिकमा मात्रै कम्पनीहरुले २ लाख २९ हजार ९४ वटा बीमालेख बिक्री गरि २ अर्ब ७० करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । व्यापारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले टपेको छ । समिक्षा अवधिमा कम्पनी सर्वाधिक व्यापार गर्ने कम्पनीको पहिलो सूचीमा छ ।
चार महिनामा सलिकोले १ अर्ब ७७ करोड ६७ लाख ९३ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ९१ हजार ८७७३ बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । कात्तिकमा मात्रै कम्पनीले ३४ करोड ४ लाख बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि चार महिनामा १ अर्ब ४६ करोड २६ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साउनदेखि कात्तिकसम्म कम्पनीले ९९ हजार ४२४ वटा बीमालेख गरेको हो । कात्तिकमा मात्रै कम्पनीले २४ हजार ६३५ वटा बीमालेख बिक्री गरि २९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रो सूचीमा रहेको शिखर इन्स्योरेन्सले पनि चार महिनामा १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले एकै महिना ९८ हजार १८५ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।
यस्तै, समिक्षा अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड २७ लाख, हिमालयन एभरेष्टले १ अर्ब १४ करोड ९८ लाख, आइजीआई प्रुडेन्सियलले १ अर्ब १३ करोड ४९ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
प्राधिकरणका अनुसार सो अवधिमा एनएलजीले ९४ करोड १९ लाख, ओरियण्टलले ९२ करोड ८६ लाख, युनाईटेड अजोडले ८४ करोड १ लाख, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख, सानिमा जिआइसीले ७७ करोड ९३ लाख, प्रभूले ६२ करोड ७५ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ६१ करोड ४९ लाख र नेशनलले ४९ करोड ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।