काठमाण्डौ । चालु आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशतको सीमा भित्र रहने अनुमान गरिएको छ ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो ।
पहिलो त्रयमाससम्म मुद्रास्फीति लक्षित सीमाभित्र रहेको केन्द्रिय बैंकले जनाएको छ । भारतमा पछिल्लो समय खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई विगत दुई महिनादेखि समग्र मुद्रास्फीति बढेको छ ।
अधिकांश केन्द्रीय बैंकहरुले नीतिगत दर घटाउन शुरु गरेको अवस्थामा समेत मुद्रास्फीतिमा चाप कायम रहेको कारण भारतीय रिजर्भ बैंकले नीतिगत दरलाई यथावत राखेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहन गई गैर–खाद्य समूहको मूल्यमा भने थप चाप नपर्ने अनुमान गरिएको हो । त्यसकारण पनि पनि चालु आवमा वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशतको सीमाभित्र रहने अनुमान छ ।
भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको अवस्थामा मध्यपूर्वी एशियाली मुलुकमा विद्यमान भू–राजनीतिक तनाव तथा थप जटिल हुँदै गएको रुस युक्रेन युद्धका कारण आपूर्ति श्रृंखलामा व्यवधान पुग्नसक्ने र यसबाट उपभोक्ता मूल्यमा चाप पर्न सक्ने जोखिम भने यथावत छ ।