काठमाण्डौ । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान नै चलाएको छ ।
प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख (४०.४२ प्रतिशतं) राजस्व सङ्कलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी चार करोड ३७ लाख राजस्व सङ्कलन गरिएको उनले बताए ।
यस्तै, स्रोत नखुलेको दुई करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट एक करोड ८३ लाख अवैध काठ बरामदबाट एक करोड २० लाख राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट ९२ लाख बढी राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिएका छन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times