काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले महासंघका समस्या सम्बोधन नगरेको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहले सरकारसँग पटक–पटक सम्बोधन गर्दा पनि कुनै वास्ता नगरेको गुनासो गरे । उनले पटकपटक ध्यानाकर्षण गर्दा पनि सरकारले आश मात्रै देखाएको तर समाधान नगरेको आक्रोस पोखेँ ।
सुरुमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सबै सकारात्मक देखिएको भएपनि अन्तिममा कसैले पनि नटेरेको उनी सुनाउँछन् । उनले विकासन्युजसँग भने, ‘हामीले सरकारसँग बारम्बार आन्तरिक रूपमा छलफल गर्याैं, तर सम्बोधन गछौं भन्दाभन्दै यहाँसम्म पुर्यायो । अन्तिममा हामीले नै धोका पायौं ।’
काम गरेको भुक्तानी रकमबाहेक सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, निर्माण सामाग्रीमा कार्टेलिङ गरी सिमेन्ट, डन्डीलगायतका भइरहेको चर्को मूल्यवृद्धिले निर्माण उद्योग लगभग ‘कोमा’ मा पुगिसकेको अध्यक्ष सिंहले बताए ।
सरकारले योजना बढाउने तर बजेट थप नगर्ने उनको भनाइ छ । देशमा तीनै सरकारको अवस्था भद्रगोल रहेको उनी बताउँछन् । उनले, ‘देशमा तीन सरकार छन् तर हाल सबैको भद्रगोल छ । यहाँ तलदेखिमाथिसम्म सबै मिलेका छन् । कार्टलिङ गरिरहेका छन् । यहाँ सबै अराजक हुन् ।’
उनले सरकाले निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरूमै भुक्तानी हुनुपर्ने बक्यौता रहेको ठुलो रकम अझै पनि भुक्तानी गर्न नसकेको आरोप लगाए । निर्माण उद्योगको विकासमा सरकार उदासीन हुँदा समग्र अर्थतन्त्रमै गम्भीर समस्या देखिएको उनले दाबी गरे । मुलुकमा हाल साढे ६ खर्बभन्दा बढीका आयोजनाहरू पुगिसकेकोमा सरकारसँग साढे एक खर्बभन्दा बढीका आयोजना सम्पन्न गर्न सक्ने क्षमता नरहेको सुनाए ।