काठमाण्डौ । ५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दामा गत माघदेखि सुरू नियमित सुनुवाईअन्तर्गत बुधबार चौथो दिनको सुनुवाई भयो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
आज संवैधानिक इजलासअन्तर्गत दुईवटा पूर्ण इजलास तोकिएको थियो । पहिलोमा संवैधानिक नियुक्तिसँग सम्बन्धित रिटहरु मात्रै रहेकोमा दोस्रो १६ वटा मुद्दाको पेसी तोकिएको थियो । तर संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाईमा बहस नसकिएपछि दोस्रो इजलासका सबै मुद्दा हेर्न नभ्याइनेमा पठाइएको छ ।
दोस्रो इजलासमा उत्प्रेषण र उत्प्रेषण परमादेशसँग सम्बन्धित मुद्दाहरुको पेसी तोकिएको थियो । बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू कीर्तिनाथ शर्मा, हर्कबहादुर रावललगायतले बहस गरेका थिए । रिट निवेदकको बहस सकिएपछि आजबाट सरकारी वकिलले बहस सुरु गरेका छन् ।
संवैधानिक नियुक्तिमाथिको अर्को सुनुवाईका लागि आइतबार ९वैशाख ७ गते० अर्को पेसी तोकिएको छ । सामान्यतया बुधबार र शुक्रबार मात्रै पूर्ण इजलास तोकिने गरेकोमा यसपालिका आइतबार पनि पूर्ण इजलासमा पेसी तोकिएको हो ।