काठमाण्डौ । एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले नयाँ प्याकहरु संचालनमा ल्याएको हो ।
भ्वाइस सेवामा, एनसेलले ३९ रुपैयाँदेखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ । जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् ।
एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन् । जसको मूल्य मात्र ५० रुपैयाँ रहेको छ । त्यसैगरी, ५९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्ने जनाइएको छ ।
भारतमा फोन गरी सम्पर्कमा रहिरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ् डिस्ट्यान्स (आइएलडी) प्याक संचालन गरेको छ । जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो रहेको कम्पनीको भनाई छ ।
सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । २ हजार ४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरुले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रति दिनको खर्च मात्र २९।८ रुपैयाँमा झारेको छ ।
आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत, एनसेलले १ हजार ९९९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक संचालनमा ल्याएको छ । त्यसैगरी, ग्राहकहरूलाई १ हजार १९९ रुपैयाँमा ८४ दिनका लागि १ हजार १९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ । ग्राहकहरूले यी प्याकहरू *१२३3# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् ।