काठमाण्डौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौकाे कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल नलगाएको पाइएपछि विभागले जरिवाना संँगै बिक्री वितरणमा पनि रोक लगाएको हो ।
बुधबार विभागले नियमित अनुगमनका क्रममा काठमाण्डौ महानगरपालिका–१६ स्थित उक्त उद्योगमा अनियमितता भेटिएको जनाएको छ । अनुगमन टोलीले नागार्जुन नगरपालिका–३ मा रहेको नेपाल जुत्ता फ्याक्ट्रीलाई भने सामान्य निर्देशन दिई छाडिएको जनाएको छ ।
त्यसैगरी, काठमाण्डौ–३१ स्थित सिउटिक्स फर्मा र क्युटिज फार्मेसी प्रालिमा बिक्रीका लागि राखिएका कस्मेटिकजन्य सामग्रीको नमुना संकलन गरिएको र ती वस्तुहरूको बिक्री अस्थायी रूपमा रोकिएको विभागले जानकारी दिएको छ । दुवै फार्मेसीलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यसैबीच, विभागले अघिल्लो पटक रोक्का गरेको काठमाण्डौ–१७ स्थित पशुपति ट्रेडिङ कन्सर्न र काठमाण्डौ–२२ स्थित जनता केबुल इन्डस्ट्रिज प्रालिको कारोबार फुकुवा गरेको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार उल्लंघन गर्ने व्यवसायहरूलाई निरन्तर निगरानी, निर्देशन र आवश्यक कारबाही गरिरहेको जनाएको छ ।