काठमाण्डौ । सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको पहल ‘स्टेप टुर्वाडस् एजुकेशन’ मार्फत समुदायप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिएको छ।
यस अभियान अन्तर्गत, एयरलाइन्सले लामो समयदेखि सहकार्य गर्दै आएको प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको हो । कम्पनीले बिहीबार पाठ्यपुस्तक, नोटबुक, रजिस्टर, जुत्ता लगायतका सामग्रीसहित तन्ना र तौलियाहरू समेत हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्स्को ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, ‘विगत आठ वर्षदेखि प्रयास नेपालसँग सहकार्य गर्दै आउँदा यहाँका बालबालिकाहरूको जीवनमा आएको सकारात्मक परिवर्तन देखेर अत्यन्त हर्षित छु । उनीहरू आत्मविश्वासी र सक्षम व्यक्तित्वमा रूपान्तरण भइरहेका छन्, जुन परिवर्तनको साक्षी हुनु भावनात्मक र प्रेरणादायी अनुभव हो ।’
प्रयास नेपालकी अध्यक्ष मणि जोशीले निरन्तर साथ र सहयोगका लागि हिमालय एअरलाइन्सप्रति आभार व्यक्त गर्दै भनिन्, ‘उहाँहरूको योगदान केवल भौतिक सहयोगमा सीमित छैन, यसले बालबालिकाहरूको जीवनमा आशा र प्रेरणाको उज्यालो थपिदिएको छ। हामी हिमालय एअरलाइन्स्को सफलताको निरन्तर कामना गर्दछौँ ।’
विगत २२ वर्षदेखि बालबालिका सशक्तीकरणमा क्रियाशील प्रयास नेपाल हाल १८ जना बालबालिकाको घर हो, जहाँ उनीहरूलाई आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा हुर्काइँदैछ । सामाजिक उत्तरदायित्वमा लगातार अग्रसर रहँदै आएको हिमालय एयरलाइन्सले आफ्नो १० वर्षे यात्रासँगै समाजप्रतिको दायित्व र समावेशी मूल्यमा आधारित दृष्टिकोणलाई अझ मजबुत बनाउँदै लगेको छ ।