काठमाण्डौ । कर्णाली प्रदेशका १० जिल्लामा ५ हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण ५ हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताए ।
खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग छन् । दैलेखमा १ हजार ६७५ वटा उद्योग खारेज भएका छन् । दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा १ हजार ४५५ वटा खारेज भएका छन् । कालिकोटमा ४७८, जुम्लामा ५८७, मुगुमा २१, सल्यानमा ५०२, जाजरकोटमा ४२७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा ९ र रुकुमपश्चिममा १५८ वटा उद्योग खारेज गरिएका छन् । कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी सुर्खेतमा दर्ता गरिएका थिए । सुर्खेतमा मात्र १४ हजार २६५ वटा उद्योग दर्ता भएको निर्देशनालयले जनाएको छ । हाल यहाँ १ हजार ३४१ उद्योगमात्र नवीकरण भएका छन् ।
दैलेखमा ४ हजार ७४८ उद्योग दर्ता गरिएकामा हालसम्म ३ हजार ५९१ उद्योगको नवीकरण गरिएको छ । कालिकोटमा २ हजार ८३७ उद्योग दर्ता भएकामा हाल १ हजार ९३६ वटामात्र उद्योग नवीकरण गरिएको छ । यसैगरी, जुम्लामा ४ हजार ३८६ वटा उद्योग दर्ता भएकामा २ हजार ३५७ वटा मात्र नवीकरण भएको कार्यालय प्रमुख सापकोटाले बताए। मुगुमा २ हजार २३ वटा उद्योग रहेकामा हाल ४५० वटा मात्र नवीकरण भएका छन् ।
सल्यानमा ३ हजार ६६३ वटा उद्योग रहेकामा ३ हजार २१७ वटा मात्र सञ्चालनमा रहेको निर्देशनालयले जानकारी दिएको छ । जाजरकोटमा ३ हजार ६८ दर्ता भएकामा १ हजार ८९७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ । त्यसैगरी, डोल्पामा २ हजार २३६ उद्योग दर्ता भएकामा हाल ९२२ मात्र नवीकरण भएको निर्देशनालयले जनाएको छ । हुम्लामा ३ हजार ७१९ वटा उद्योग दर्ता भएकामा हाल आएर ७३६ वटा मात्र नवीकरण गरिएको छ ।
रुकुमपश्चिममा २ हजार ७३३ उद्योगमा २ हजार २५० उद्योगमात्र सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ । १ लाख २१ हजार ५५५ जनाले यी दर्ता भएका उद्योगबाट रोजगारी पाएको निर्देशनालयले जनाएको छ ।