काठमाण्डौ । जीलीका अध्यक्ष तथा संस्थापक ली शुफुले शनिबार विश्वव्यापी अटोमोबाइल उद्योग अहिले ‘गम्भीर अति उत्पादन क्षमता’को समस्याबाट जुधिरहेको बताएका छन् । यसैकारण चिनियाँ कार निर्माता कम्पनी जीलीले नयाँ उत्पादन संयन्त्र (कारखाना) नबनाउने र हालका उत्पादन केन्द्रहरू पनि विस्तार नगर्ने निर्णय गरेको छ ।
कम्पनीका अनुसार उनले यो टिप्पणी चीनको केन्द्रीय सहर छोंगछिङमा आयोजित एक अटो फोरममा गरेका थिए । जीली होल्डिङले जीली अटो, जीक्र र भोल्भो लगायतका अटो ब्रान्डहरू स्वामित्वमा राखेको छ । विश्वकै सबैभन्दा ठूलो अटो उद्योग चीनले अहिले कडा मूल्य प्रतिस्पर्धामा फसेको छ । यही बेला उनको यस्तो टिप्पणी आएको हो । यसले धेरै कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जाने बाध्यता बनाएको छ र चिनियाँ नियामकहरूलाई मूल्ययुद्ध रोक्नका लागि कदम चाल्न प्रेरित गरेको छ ।
चिनियाँ कार निर्माताहरू जसमध्ये केहीले विदेशमा कारखाना निर्माण गरिरहेका छन् । तीमध्ये बीवाईडी, चेरी अटो र ग्रेट वाल मोटर प्रमुख हुन् । जीलीले यसअघि फेब्रुअरीमा घोषणा गरेको थियो कि उनीहरूले फ्रान्सेली कार निर्माता रेनोको ब्राजिलमा रहेको हालको उत्पादन संयन्त्र प्रयोग गर्ने र रेनोको लाटिन अमेरिकी व्यवसायमा अल्प हिस्सेदारी सेयर लिने योजना बनाएका छन् ।