काठमाण्डौ । आरेन्टल को–अपरेटिभको सम्पत्ति लिलाम बिक्रीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आरेन्टल को-अपरेटिभकोको नाममा रहेका विभिन्न ६ ठाउँको घरजग्गा सम्पत्ति लिलाम बिक्रीमा राखेको हो ।
सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (२) बमोजिम सरकारबाट विसं २०७९ कात्तिक ६ गते मैतिदेविस्थित ओरेन्टल को-अपरेटिभ लाई समस्याग्रस्त घोषणा गरेको थियो । साथै संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने जिम्मा सोही ऐनको दफा १०५ अनुसार गठित समिति समक्ष लेखि आएको थियो ।
ऋणी सदस्य एवं सञ्चालकहरूबाट संस्थालाइ बुझाउनु पर्ने साँवा, ब्याज, हर्जाना, जरिवाना तिर्न बुझाउनको लागि सहकारी नियमावली २०७५ को परिच्छेद ८ को नियम ३० को उपनियम (१) देहाय (क) र (ख) बमोजिम पत्राचार गरेको थियो । तर, ऋणी र सञ्चालकले संस्थालाई फरफारक नगरेकाले ऋणीहरूको नाममा रहेका जग्गाहरू सहकारी नियमावली २०७५ को परिच्छेद ८ को नियम ३० को उपनियम २ को खण्ड च बमोजिम चलनचल्तीको मूल्य कायम गरी सोही नियम बमोजिम लेना रकम असुलीको लागि सम्पत्ति बिक्रीमा राखेको हो ।
इच्छुक बचतकर्ता, संस्था तथा व्यक्तिले सकार्न चाहेमा ३५ दिनभित्र गोप्य शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । कार्यालयका अनुसार संस्थाको नाममा विराटनगर मोरङ, सुनसरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का विभिन्न ठाउँमा जग्गा रहेका छन् ।