logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • राष्ट्र बैंकले पोलिसी रेट घटाएपछि भदौका लागि पनि बैंकहरूले घटाए ब्याजदर

    राष्ट्र बैंकले पोलिसी रेट घटाएपछि भदौका लागि पनि बैंकहरूले घटाए ब्याजदर

    611
    SHARES
    राष्ट्र बैंकले पोलिसी रेट घटाएपछि भदौका लागि पनि बैंकहरूले घटाए ब्याजदर

    काठमाण्डौ । बैंकहरूले निक्षेपको ब्याजदर झनै घटाएका छन् । वाणिज्य बैंकहरूले भदौका लागि प्रकाशन गरेको नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१८ प्रतिशत बिन्दुले कम भएको हो । २० वाणिज्य बैंकहरूमध्ये ८ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । १२ वटाले यथावत राखेका छन् ।



    प्रकाशित ब्याजदरअनुसार, साउनका लागि ब्याजदर बढाएको स्ट्यान्डर्ड चार्टर्डले भदौका लागि सबैभन्दा धेरै घटाएको हो । छोटो अवधिको मुद्दती निक्षेपमा सबैजसो बैंकहरूको ब्याजदर ५ प्रतिशतभन्दा तल रहेको देखिन्छ । २ वर्षभन्दा बढी अवधिको निक्षेपमा भने बैंकहरूले न्यूनतम ५ देखि अधिकतम ६.२५ प्रतिशत ब्याजदर दिने भएका छन् । सबैभन्दा धेरै आधारदर भएको एनआईसी एशिया बैंकले भदौमा ५ वर्ष वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२५ प्रतिशत ब्याजदर दिने भएको हो ।

     

     

    एनएमबिले ५ वर्ष वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिँदा ग्लोबल आईएमई र माछापुच्छ्रे बैंकले ३ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिने भएका छन् । यस्तै, प्राइमले २ वर्षमाथिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर प्रस्ताव गर्दा हिमालयनले ५ देखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिने भएको हो । यी ५ वटै बैंकले साउनको भन्दा भदौमा मुद्दती निक्षेपको अधिकतम ब्याजदर परिवर्तन गरेका छैनन् ।

     

    एभरेष्टले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले साउनमा ६.२५ प्रतिशत ब्याजदर दिएकोमा भदौका लागि ०.५ प्रतिशत बिन्दुले घटाएर ५ वर्षमाथिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर दिने भएको हो । सानिमाले पनि साउनको ६.१८ प्रतिशतबाट ०.४३ प्रतिशत बिन्दुले घटाएर ५.७५ प्रतिशत बनाएको छ । ५ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याज पाइने बैंकले जनाएको छ । नबिलले ५ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याजदर दिँदा राष्ट्रिय वाणिज्य बैंकले २ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याजदर दिने भएको हो ।

     

    सिटिजन्सले पनि २ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याज दिनेछ । ३ वटै बैंकको साउनमा पनि अधिकतम ब्याजदर ५.५ प्रतिशत नै थियो । सिद्धार्थ बैंकले भने साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा ५.५७ प्रतिशत रहेको ब्याज भदौमा ०.२५ प्रतिशत बिन्दुले घटाएर २ वर्षभन्दा बढी अवधिका लागि ५.५ प्रतिशत ब्याजदर दिने भएको छ ।

     

    नेपाल बैंकले ५ वर्षमाथिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.४ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । साउनको भन्दा बैंकले ब्याजदर परिवर्तन गरेको छैन । प्रभुले साउनको भन्दा ब्याजदर परिवर्तन गरेको छैन । साउनमा ४.३५ प्रतिशत प्रकाशित गरेकोमा भदौमा पनि १० वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले ५.३५ प्रतिशत नै ब्याजदर दिने भएको हो ।

     

     

    नेपाल एसबिआई बैंकले साउनमा ५.३५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भदौमा ०.१ प्रतिशत बिन्दुले घटाएर ५.२५ प्रतिशत बनाएको छ । ३ वर्षभन्दा माथिको निक्षेपमा उक्त ब्याज पाइनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत यथावत छ । २ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याज पाइनेछ । कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटाएर ५.२१ प्रतिशत बनाएको छ । २ वर्षभन्दा माथिको निक्षेपमा उक्त ब्याज पाइनेछ ।

     

     

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.२६ प्रतिशतबाट १.१३ प्रतिशत बिन्दुले घटाएर ५.१३ प्रतिशतमा झारेको छ । ५ वर्षभन्दा माथिको निक्षेपमा बैंकमा उक्त ब्याजदर पाइनेछ । लक्ष्मी सनराइज बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशतबाट ०.५ प्रतिशत बिन्दुले घटाएर ५ प्रतिशत बनाएको छ । ५ वर्षभन्दा माथिको निक्षेपमा बैंकमा उक्त ब्याज पाइनेछ ।

     

    गत असारमा ल्याएको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरका सबै दर घटाएसँगै बैंकहरूले साउनका लागि ब्याजदर घटाएका थिए । भदौमा पनि थप घट्ने क्रम देखिएको हो । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले बैंकदरलाई ६.५ प्रतिशतबाट ६ मा, नीतिगत दरलाई ५ बाट ४.५ मा र निक्षेप संकलन दरलाई ३ बाट २.७५ प्रतिशतमा झारेको थियो ।

     

    फ्लोर रेटको रुपमा रहेको निक्षेप संकलन दर घटाएसँगै बैंकहरूले बचतको न्यूनतम ब्याजदर पनि साउनबाट नै सोही अनुसार घटाएका छन् । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको राष्ट्र बैंकले त्यसभन्दा तल बचतको ब्याजदर घटाएमा उक्त सुविधा लिन पाउँदैनन् । सोही कारण निक्षेप संकलन दर ३ प्रतिशत हुँदा बचतको न्यूनतम ब्याजदर पनि ३ प्रतिशतभन्दा तल झरेको थियो । तर, केन्द्रीय बैंकले पोलिसी रेट नै घटाएर बैंकहरूलाई ब्याजदर थप घटाउने बाटो दिएको हो । बचतको ब्याजदरसँगै बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर पनि घटाएका छन् । २ वाणिज्य बैंकको आधारदर ५ प्रतिशतभन्दा तल झरिसकेको अवस्था छ । अझै थप ब्याजदर घट्दा कर्जा अझ सस्तो हुने देखिन्छ ।


    अर्थ चाैतारी
  • आइतबार, १ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट